भिडियो एक्सरे भनेको के हो , किन र के का लागि गर्ने!

by

Dr Sujan Thapa

Ultrasound Scan ( भिडियो एक्सरे) भनेको के हो , किन र के का लागि गर्ने !

अल्ट्रासाउण्ड अर्थात आम जनबोलीको भाषामा भन्नुपर्दा भिडियो एक्सरे उच्च ध्वनी तरंगको माध्यमबाट रोग पहिचान र उपचार गर्ने चिकित्सकय पद्धति हो । सन् १९५६ मा वेलायतका वैज्ञानिक तथा चिकित्सक इयान डोनाल्डले पहिलो पटक अल्ट्रासाउण्ड चिकित्साविधामा प्रयोग गरेका थिए । त्यसपश्चात यो पद्धति समयसापेक्ष प्राविधिक रुपमा परिष्कृत हुँदै हालको अत्यन्त विकसित रुपमा आएको हो ।

अल्ट्रासाउण्डको सहज उपलब्धता, सस्तोपना, अस्पताल शैयामै गएर सेवा दिन मिल्ने, हानिकारक विकिरण नभई ध्वनी तरंग प्रयोग हुने, हातमै लिएर घुम्ती सेवा दिन पनि मिल्ने र कुनैपनि रोगको पहिलो अनुसन्धानको क्रम अल्ट्रासाउण्डबाटै शुरू हुने भएकाले हाम्रोजस्तो विकाशसील राष्ट्रकोलागि अल्ट्रासाउण्ड वरदानको रुपमा सावित भएको छ ।

हामीमा अल्ट्रासाउण्ड भन्दा सि.टि स्क्यान राम्रो र सि.टि स्क्यान भन्दा एम.आर.आई उच्चतम भन्ने जुन सोचाई छ त्यो एक भ्रम मात्रै हो । कतिपय रोगका सवालमा अल्ट्रासाउण्ड आफैमा सर्वेसर्वा र सम्पूर्ण पद्धति हो । गर्भावस्थाको ९ महिना, थाइरोइड, स्तन, अण्डकोष र पित्तथैलीकोक रोग हरु पत्ता लगाउन अल्ट्रासाउण्ड अच्चतम प्रविधि हो ।

शरीरका कुनै पनि भागमा आएको डल्लो, गाँठो क्यान्सर हो कि हैन भनेर शंका गर्ने प्रबिधि पनि यही हो । रक्तवाहिनी नली सङ्लो छ कि छैन, रगत बग्नमा कतै रोकावट छ कि छैन र नसा बाक्लो छ कि छैन भनेर हेर्न पनि अल्ट्रासाउण्डनै प्रयोग गरिन्छ । साथै पेटका अंग जस्तै किड्नी, कलेजो, फियो, पिशावथैली, पाठेघर, डिम्बाशय प्रोस्टेट ग्रन्थिमा कुनै रोग छ कि छैन भनेर पनि शुरूवति चरणमा अल्ट्रासाउण्ड प्रयोग गरिन्छ ।

गर्भावस्थामा त अल्ट्रासाउण्डलाई सुनको मानक (gold standard) नै मानिन्छ । गर्भावस्थाको शुरुमा गर्भस्थ शिशु पाठेघर भित्र छ कि छैन, छ भने कतिवटा छ, पाठेघरको मुख खुल्ला छ कि छैन हेरिन्छ । गर्भ विकासका क्रममा शिशुको नाकको हड्डी, गर्दनको तरल पदार्थको मोटाई (NT Scan) जसबाट जन्मजात लाग्ने वशांणगत रोगको बोरमा पहिल्य थाहा हुन्छ त्यसको जाँच गरिन्छ । अझ पछि विकिलाङ्ताको जाँच (Anomaly Scan) गरिन्छ जहाँ शिशुको हरेक अङ्ग विकसित भएको छ कि छैन भनेर हेरिन्छ । त्यस पश्चात शिशु उल्टो छ कि सुल्टो छ, तौल कति भयो, गर्भको उमेरानुसार शिशुको तौल छ या छैन, पानीको मात्रा कति छ, पाठेघरको मुखको सक्षमता, सालको अवस्था र नाल शिशुको घाटीँमा बेरिएको छ कि छैन जस्ता कुराहरु अल्ट्रासाउण्ड बाट पत्ता लाग्छन । आधुनिक प्राविधिको त्रि/चौ आयतन (3D, 4D) अल्ट्रासाउण्डबाट शिशुको अनुहारपनि प्रष्ट देखिन्छ ।

Dr Sujan Thapa
MBBS, MD
Radiologist
Shankhamul Healthcare

0 Comments